पितृशोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले भेटेका छन् । बुधबार बिहान बालेनलाई भेट्न प्रचण्ड बालेन निवास गएका थिए । करिब आधा घन्टा कुरेपछि प्रचण्डले बालेनसँग भेट गरे । बालेन पितृकार्यमा व्यस्त रहेका कारण उनलाई भेट्न प्रचण्डले आधा घन्टा कुर्नुपरेको थियो ।
बालेनसँगको भेटअघि बालेनकी पत्नी, आमा र दाजुसँग प्रचण्डले समवेदना व्यक्त गरेका थिए । बालेनसँगको भेटमा प्रचण्डले बुबाको निधनप्रति दुःख व्यक्त गरे भने उनीहरुबीच त्यसक्रममा थोरै राजनीतिक कुराकानी समेत भएको थियो ।
प्रचण्डले शुरुमा बुबाको निधनले आफू दुखित भएको बताउँदै पारिवारिक रुपमा आफूले पनि धेरै पीडा भोग्नुपरेको बताए । आफूले छोरा र श्रीमति गुमाउनुपरेको पीडा उल्लेख गर्दै प्रचण्डले पारिवारिक सदस्य गुमाउँदाको पीडा आफूले महसुस गर्न सक्ने बताए । भेटका क्रममा बालेनले प्रचण्डलाई अहिले बसाई कहाँ छ भनी सोधेका थिए । प्रचण्डले छोरी रेणुको घरमा बसेको उल्लेख गर्दै उपत्यकामा रहेको रणुको घर नजलेका कारण अहिले त्यहिँ बसिरहेको बताए । बालेनले प्रचण्डलाई नेपाली कम्युनिष्ट पार्टीको कार्यालयका विषयमा पनि सोधेका थिए । बालेनले प्रचण्डलाई सोधे, ‘अहिले पार्टी कार्यालय चाहिँ पेरिसडाँडामा छ कि कहाँ ?’ जवाफमा प्रचण्डले भने,‘ पेरिसडाँडामा नै छ । तर, अहिले शोकको घडीमा राजनीतिक कुराकानी नगरौं ।’
यति भनेर प्रचण्ड बालेन सहित परिवारका अन्यसँग बिदा मागेर निस्किए । प्रचण्ड सचिवालयका केही सदस्य सहित बिहान १० बजे बालेन निवास पुगेका थिए । उनी बालेन निवास पुग्दा उज्यालो नेपाल पार्टीका नेताहरु पनि त्यहाँ थिए । यद्यपि प्रचण्डसँग उनीहरुको भने कुराकानी भएन ।





