Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

जेनजीका हस्ताक्षरवाला प्रतिनिधि थापा मेलम्ची प्रकरणका अभियुक्त


जेनजीका तर्फबाट प्रतिनिधि बनेर सरकार र जेनजीबीचको सम्झौतापत्रमा हस्ताक्षर गर्ने भोजविक्रम थापा मेलम्ची प्रकरणका अभियुक्त रहेको खुलेको छ ।

केहीदिनअघि जेनजी र सरकारबीच भएको सम्झौतापत्रमा जेनजीका तर्फबाट थापा र सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीले हस्ताक्षर गरेकी थिइन् । तर, हस्ताक्षरको मसी सुक्न नपाउँदै थापा मेलम्ची प्रकरणका अभियुक्त रहेको खुलेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मात्रै थापा सहितका व्यक्तिले मेलम्ची प्रकरणमा पदको दुरुपयोग गरेको दाबी गर्दै भन्दै सर्वोच्चमा पुनरावेदन गरेपछि यो कुरा बाहिरिएको हो । थापा मेलम्ची खानेपानी विकास समितिका तत्कालिन उपकार्यकारी निर्देशक थिए । उनी उपकार्यकारी निर्देशक भएका बेलामा मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा सुरुङ निर्माण गर्दा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले ६ फागुन २०८० मा पूर्व सचिव भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, सञ्जय शर्मा सहितका व्यक्ति र कम्पनीलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले केहीलाई दोषी ठहर गरेपनि विभिन्न ११ जनालाई भने सफाई दिएको थियो । उक्त सफाईप्रति चित्त नबुझाएको अख्तियार आइतबार थापा सहितका व्यक्तिहरुलाई प्रतिवादी बनाउँदै पुनः सर्वोच्च गएको हो ।

अख्तियारले थापा सहितका प्रतिवादीलाई मागदाबी अनुसार सजाय हुनुपर्ने जिकिर गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार