Logo
९ श्रावण २०८३, शनिबार
|  Sat Jul 25 2026

रविको रिहाईपछि राजनीतिमा नयाँ खेल


रास्वपा सभापति रवि लामिछाने रिहा भएसँगै राजनीतिमा नयाँ खेल शुरु भएको छ । रविको रिहाईले स्वभाविक रुपमा ठूला दलहरुको निद हराम भएको विश्ल्लेषण गर्न थालिएको छ भने नयाँ र अन्य वैकल्पिक दलहरुमा पनि यसले हलचल ल्याइदिएको छ ।

रवि लामिछाने तत्कालै रिहा नहुने र रास्वपासँग अहिले मिल्नुको औचित्य नरहेको ठम्याईसहित आफ्नै बाटो लागेका कुलमान घिसिङ र उनको सकृयतामा खुलेको उज्यालो नेपाल पार्टी रविको रिहाईसँगै रास्वपासँग यतिबेला भित्रभित्रै संवादमा जुटेको छ । उज्यालो नेपाल पार्टीका नेताहरुले रास्वपा नेताहरुसँगको अनौपचारिक संवादलाई तिब्र बनाएका छन् । जबकी उज्यालो नेपाल पार्टीका नेताहरुले केहीदिनअघि मात्रै रास्वपासँग संवादमा रहनुको अर्थ नभएको भन्दै चुनावी तयारीमा लाग्ने बताएका थिए ।

उता रास्वपाका नेताहरुले पनि कोही कसैसँग लचक हुन सकिएपनि भाँचिने नै गरी झुक्न भने नसक्ने बताउँदै उज्यालो नेपाल पार्टीले चाहिने भन्दा धेरै भाउ खोजेको संकेत गरेका थिए । प्राप्त जानकारी अनुसार कुलमान घिसिङले रास्वपामा कार्यकारी सहितका पदको माग गरेपछि रास्वपा नेताहरु बिच्किएका थिए । रवि लामिछाने लामो समय जेलभित्रै रहने अनुमानका आधारमा घिसिङ सहितका नेताहरुले रास्वपामा कार्यकारी सहितका पद खोजेको भएपनि अब परिस्थिती फेरिएकाले नयाँ ढंगले अघि बढ्नुपर्ने निष्कर्षमा उज्यालो नेपाल पार्टीका नेताहरु पुगेका छन् ।

रविको रिहाईपछि रास्वपाको लम्काई निकै तिब्र हुने अनुमान उज्यालो नेपाल पार्टीका नेताहरुको छ । त्यसैले पनि रास्वपासँग सहकार्य नगरी अघि बढ्दा गाह्रो हुने बुझाईका कारण अहिले भित्रभित्रै उनीहरुले संवादलाई तिब्र बनाएका छन् ।

पदीय व्यवस्थापनका कुरालाई महत्व दिँदा भोलिका दिनमा उज्यालो नेपाल पार्टीको भविष्य नै अँध्यारो हुन सक्ने ठम्याईमा उज्यालो नेपाल पार्टीका कतिपय नेताहरु पुगेका छन् । यद्यपि चुनावपछि सरकारको नेतृत्व गर्ने अवस्था आए त्यसमा को भन्ने विषयमा चाहिँ अहिले नै टुंगोमा पुग्नुपर्ने या चुनावपछिको प्रधानमन्त्रीको रुपमा कसलाई अघि सार्ने भन्ने विषयमा निचोड निकाल्नुपर्ने उनीहरुको मत छ । रवि लामिछाने र रास्वपाले सार्वजनिक रुपमा नै चुनावपछिको प्रधानमन्त्री कुलमान घिसिङ भनेर भन्न सक्ने हो भने पार्टी एकतामा ढिलाई गर्न नहुने मत उज्यालो नेपाल पार्टीका कतिपय नेताहरुको छ ।

घिसिङलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जाने कुरामा रास्वपालाई मनाउँनेगरी उज्यालो नेपाल पार्टीका नेताहरुले रास्वपाका विभिन्न नेताहरुसँग कुराकानी शुरु गरेका छन् । तर, रास्वपा यो कुरामा सहमत नभए बालेन र जेनजी अभियन्ता सहितको पार्टीका रुपमा उज्यालो नेपाल पार्टीलाई अघि बढाउँने उनीहरुको योजना छ । सोही अनुसार बालेन र जेनजी अभियन्ताहरुसँग उज्यालो नेपाल पार्टीले लामो समयदेखिको संवाद अझै पनि जारी राखेको छ । बालेन पनि कुलमान घिसिङ र आफ्नो क्रेजलाई रास्वपाले नजरअन्दाज नै गरेको खण्डमा उज्यालो नेपाल पार्टीका पक्षमा खुलेरै उभिने मुडमा देखिन्छन् । तर, जेनजी अभियन्ता सुदन गुरुङ लगाएतकाहरु भने सकभर रवि, बालेन र कुलमानलाई एकैठाउँमा उभ्याउँन प्रयासरत छन् । यो प्रयास सफल भयो भने नेपाली राजनीतिमा यसले असाधारण हलचल ल्याउँन सक्ने कतिपयको ठम्याई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार