Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

कुपण्डोलमा बालेनलाई भेट्नेको लाइन


काठमाडौंका मेयर बालेन साहलाई भेट्न कुपण्डोलमा बुधबारदेखि लागेको लाइन अझै सकिएको छैन । बालेनले राजनीतिक भेटघाटको थलो आफ्ना साथी कुमार बेनको कुपण्डोलस्थित घरलाई बनाएका छन् । जहाँ देशका पूर्वप्रधानमन्त्रीदेखि लिएर राजनीतिमा भर्खर बामे सर्दै गरेकाहरुसम्मको लर्को लागेको छ । कतिपय नेता बालेनसँग आफ्नो सम्बन्ध राम्रो भएको देखाउँन आफैं बिन्ति बिसाएर कुपण्डोल पुगेका छन् भने कतिपयलाई बालेनले आफैं फोन गरेर बोलाएका छन् । अनि कतिपय नेता चाहिँ बालेनले बोलाएर भेट देलान् कि भन्दै फोनको प्रतिक्षामा छन् ।

बालेनले आफू संसदीय राजनीतिमा आउँने प्रष्ट कुरा आफू निकटमार्फत सार्वजनिक गरेसँगै बालेन यतिबेला राजनीतिको केन्द्रमा र मिडियाको मुख्य नजरमा छन् । बालेनले बिहीबार कति जनासँग भेटे ? यसको खास हिसाबकिताब छैन । तर, कुपण्डोलमा लागेको भीडले बताउँछ उनले केही दर्जन नेता र अभियन्तासँग भेटे । बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई बिहिबार अपरान्ह पुगे भने त्यसअघि रास्वपा सभापति रवि लामिछाने पुगेका थिए । लामिछाने पुगेकै आसपासमा जेनजी अभियन्ता सुदन गुरुङ पनि पुगेका थिए । रवि र बालेनले भित्र वार्ता गरिरहँदा गुरुङले त बालेन रविको वार्तामा सहमति नजुटेसम्म कुमार बेनको घरको गेटमा ताला लगाएर बस्ने चेतावनी दिए । उनी त्यो चेतावनी सहित गेटमै कुरेर बसेका थिए । यद्यपि बिना सहमति रवि बालेनसँगको वार्ताबाट निस्किए ।

वैकल्पिक शक्तिहरुलाई एक ठाउँमा उभ्याउँने र राजनीतिको रथ हाँक्ने योजनामा रहेका बालेनले आफ्ना साथी कुमार बेनको घरमा राजनीतिका धेरै नेताहरु र अभियन्ताको नाडी दुई दिनको बीचमा छाम्न भ्याए । बालेनलाई भेटेपछि के कुरा भयो भन्ने विषयमा खुलेर खास कसैले बताएनन् । कतिपयले वैकल्पिक राजनीतिको माहोल बिग्रन सक्ने भयले बताएनन् भने कतिपयले आफू रहिरहेको पार्टीमा के पो होला भन्ने डरले बताएनन् । जसले जे कारणले कुरा चपाएपनि विषयवस्तु प्रष्ट थियो, अब नयाँ दल चुनाव र आगामी राजनीति भन्ने । बालेनलाई भेट्न बिहानै कुपण्डोल पुगेका नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले बालेनसँग भेटेर आफूले संसद पुनःस्थापनाको कुरा गरेको बताए । बालेन साहले चाहँदा संसद पुनःस्थापना हुने सम्भवतः उनको बुभाई हुन सक्छ । तर, संसद पुनःस्थापना नै भयो भनेपनि पुनःस्थापनाको कुरा बालेनलाई भनेर हुने होइन । यो अब अदालती विषय हो । पुनःस्थापना कि त अदालतले गर्छ कि त वृहत राजनीतिक सहमतिका आधारमा सबै दल र पक्ष मिलेर गर्न सक्छन् । तर, डा. सुनिल शर्माले संसद पुनःस्थापनाका लागि बालेन साहलाई गुहारेको भन्ने कुरा बिहीबार आफैंमा धेरैका लागि अचम्मको कुरा थियो । हुन त बालेनले संसद भंग गर्ने कुरालाई जेनजी आन्दोलनका क्रममा फेसबुकमार्फत लेखेका कारण उनैले पुनःस्थापना गर्छन् भन्ने सुनिल शर्मालाई लागेको पनि हुन सक्छ ।

सुनिल शर्मापछि बालेनलाई भेट्न डा.अमरेशकुमार सिंह पुगेका थिए । अमरेशकुमार सिंह जो केही वर्षअघि नेपाली कांग्रेसका नेता थिए भने अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी जित निकालेका थिए । यसअघि बुधबार साँझ मात्रै राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही बालेनसँगको भेटका लागि कुपण्डोल पुगेका थिए । रेशम चौधरीदेखि लिएर डा.सिके राउतको पार्टीका नेतासम्मले बालेनलाई भेटे । पत्रकार ऋषी धमलादेखि लिएर अन्य केही मिडियाकर्मी पनि बालेनसँगको भेटमा थिए ।
बालेनसँग मिलेर राजनीति गर्न खोज्नेको लर्को पछिल्ला केही घन्टायता ह्वात्तै बढेको छ । बालेनले अघि बढाउँन खोजेको राजनीतिक यात्रामा सँगै यात्रा गर्न खोज्नेहरु कोही भित्रभित्रै त कोही बाहिर देखिनेगरी लागेका छन् । तर, बालेनको राजनीतिक रथ कसरी गुड्छ ? त्यो भने भोलीका दिनले बताउँदै जानेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार