Logo
२३ आश्विन २०८३, शुक्रबार
|  Fri Oct 9 2026

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी १२ करोड भन्दा बढीको क्षतीको अनुमान


हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले  आजको प्रेसलाई  जानकारी दिए।

“आगलागीमा कतिको क्षति भयो भने तत्काल एकिन गर्न सकिँदैन”, उनले भने, “तथ्याङ्क हेरेपछि मात्र क्षतिको एकिन गर्न सकिन्छ, तर गोदाममा रहेको कुनै पनि सामान जोगिएको छैन, सबै खरानी भइसकेको छ ।” यसो हेर्दा करिब १०–१२ करोड मूल्यबराबरकै क्षति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ”, उनले भने ।

मध्यरातमा अचानक आगो लागेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएर आगो निभाउने प्रयास गरिए पनि तत्काल आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको व्यवस्थापक बुढाथोकीको भनाइ छ । आगो लागेलगत्तै हेटौँडा उपमहानगरपालिकाबाट आएको दुईवटा बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयहरूको प्रयासमा अहिले केहीबेरअघि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले आजको प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार