आफूहरुको सर्त माने रास्वपालाई दुई तिहाईको चिन्ता नहुने राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बताएका छन् ।
वैदिक सनातन हिन्दू राष्ट्र घोषणा र संघीयता खारेजीका लागि रास्वपा तयार भए रास्वपाका लागि आवश्यक दुई तिहाईको सांसद संख्या उपलब्ध गराउँन राप्रपा तयार भएको उनको भनाई छ । जुम्लाबाट काठमाडौं आउँने क्रममा उनले यस्तो बताएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहीले राप्रपा देशको हितका लागि जहिल्यै लचक हुने बताए । उनले भने : रास्वपाले दुई तिहाईका बारेमा कुनै चिन्तै गर्न पर्दैन । देशको हितका पक्षमा ऊ लाग्यो भने राप्रपा साथ दिँन सधै तयार छ ।
बौद्ध, किराँत, हिन्दू सनातन वैदिक राष्ट्र घोषणा गर्नेगरी रास्वपाले संविधान संसोधन गरेमा राप्रपाका सबै सांसदले साथ दिने उनको भनाई छ । खर्चिलो प्रदेश संरचना समेत खारेज गर्नुपर्ने बताउँदै उनले रास्वपाले यी र यस्ता कुराहरु बुझ्नुपर्ने बताए ।






