Logo
१८ चैत्र २०८२, बिहीबार
|  Thu Apr 2 2026

लामो संघर्षपछि सफलताः रामेछापमा दुई जनाले पाए नागरिकताको प्रमाणपत्र


रामेछाप जिल्लामा दुई जना नागरिकले लामो समयदेखि नपाएको नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय र स्थानीय वडा कार्यालयको समन्वयमा उनीहरूलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएसँगै उनीहरूले औपचारिक रूपमा नेपाली नागरिकको पहिचान पाएका हुन्।

मन्थली नगरपालिका वडा नं. ४ गैराथोकमा वि.सं. २००१ साल असार १ गते जन्मिएकी मनमाया सारु मगरले आफ्नो जीवनको लामो समय नागरिकताविहीन अवस्थामै बिताएकी थिइन्। सोही गाउँमा विवाह गरी विभिन्न स्थानमा श्रम गरेर जीविका चलाउँदै आएकी उनी अहिले हेटौंडास्थित एक सेवा आश्रममा बसोबास गर्दै आएकी छिन्। पारिवारिक तथा आफन्तजनको साथ नहुँदा नागरिकता प्राप्त गर्नबाट वञ्चित रहँदै आएकी मनमायाले अब भने आफ्नो पहिचान पाएकी छन्।

त्यसैगरी, वि.सं. २०१७ साल बैशाख ६ गते सालु सिम्लेमा जन्मिएका हनक बसेलले पनि नागरिकता प्राप्त गरेका छन् । उनी पनि कामको सिलसिलामा घरभन्दा टाढा रहँदै आएका थिए। उनका पनि बुवा–आमा तथा नजिकका आफन्त कोही नभएकाले नागरिकता प्राप्त गर्न कठिनाइ भोग्दै आएका थिए।

यी दुवै व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय रामेछाप र वडा अध्यक्ष राजन घिमिरेको पहल तथा सहयोगमा आवश्यक प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो। यससँगै उनीहरूले राज्यद्वारा प्रदान गरिने सेवा, सुविधा तथा अधिकारमा पहुँच पाउने भएका छन्।

स्थानीय तहको सक्रियता र सरोकारवालाको सहकार्यले नागरिकताविहीन अवस्थामा रहेका व्यक्तिहरूलाई पहिचान दिलाउने कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ। यस कार्यलाई मानविय संवेदनशीलता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।

स्थानीयवासीले पनि यस्तो पहललाई स्वागत गर्दै आगामी दिनमा पनि यस्ता समस्यामा परेका अन्य नागरिकलाई पहिचान दिलाउन निरन्तर प्रयास गरिनुपर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार