नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा बढेको विवाद अझ लम्बिने संकेत देखिएको छ । १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने मागसहित असन्तुष्ट रहेका उपाध्यक्ष भीम रावलले उक्त सहमति विपरितका सबै बैठक अवैध भएको जनाएका छन् ।
उनले आजको एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गर्दै त्यसलाई अवैध र अमान्य भएको बताएका छन्।
मंगलबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ ।‘यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि–१२ झापामा लागू हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’
१० सहमतिमा साविकका एमालेका कमिटी तथा जिम्मेवारीहरु यथावत हुने भनिएकोमा सुदूरपश्चिम प्रदेशको इन्चार्ज खोसिएकोमा रावलले आपत्ती जनाउँदै आएका छन् ।





