काठमाडौँ । थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिनसँग बिहीबार भेटवार्ता गरेका छन्।
त्यस अवसरमा उनीहरूले नेपाल र थाइल्यान्डबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षालगायत आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको ब्याङ्ककस्थित नेपालको राजदूतवासले जनाएको छ ।
साथै उनीहरूले गत वर्ष नेपाल र थाइल्यान्डबीच सम्पन्न आठवटा समझदारीको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै ती सहमतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पक्षले जोड दिए । कृषि सहयोग तथा फौजदारी मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी प्रस्तावित द्विपक्षीय सम्झौता शीघ्र निष्कर्षमा पुर्याउने विषयमा समेत छलफल भएको थियो ।
दुवै पक्षले नेपाल–थाइल्यान्ड संयुक्त परामर्श संयन्त्रको आगामी बैठक पारस्परिक अनुकूल समयमा यथाशीघ्र नेपालमा आयोजना गर्ने सम्बन्धमा पनि विचार आदानप्रदान गरेका थिए ।
नेपाल र थाइल्यान्डबीचको व्यापारिक परिपूरकतामा वृद्धि गर्दै नेपाली तथा थाइ उत्पादनबीच मूल्य शृङ्खला सुदृढ गर्ने तथा हिमाली र समुद्री स्रोतमा आधारित वस्तु तथा सेवाको एकीकरणमार्फत थप मूल्य अभिवृद्धि गर्ने विषयमा पनि जोड दिइएको थियो।






