काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानीको आधारमा निर्णय गर्न नहुने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने बताए । उनले नेपाली कांग्रेस चुनाव जित्दा, हार्दा वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा उठ्ने विषयमा प्रतिक्रिया दिनेभन्दा दिशा निर्देशन दिने क्षमता पार्टीले राख्नुपर्ने बताए ।
सभापति थापाले निर्वाचित सरकारसँग शक्ति हुने भएपनि संविधानले त्यसको सीमा निर्धारण गरेको उल्लेख गरे । उनले सरकारलाई कानुन बनाउने अधिकार भएपनि के विषयमा र कुन उद्देश्यका लागि कानुन बनाउने भन्ने कुरा संविधानले परिभाषित गरिसकेको बताए ।
सभापति थापाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको ठूलो समूह अहिले पार्टीको सक्रिय भूमिकाभन्दा बाहिर रहेको भन्दै इच्छुक नेताहरूलाई सम्मानजनक जिम्मेवारीसहित पुनः सक्रिय बनाउनुपर्ने बताए ।
थापाले वरिष्ठ नेता बनाउनुपर्ने व्यक्तिलाई वरिष्ठ नेता तथा आवश्यक स्थानमा उपयुक्त जिम्मेवारी दिएर सबैलाई साथमा लिएर अघि बढ्ने आफ्नो प्रस्ताव रहेको बताए ।





