काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, संवैधानिक संस्थाको गरिमा र सामाजिक न्यायमाथि प्रहार गर्दै अधिनायकवादी दिशातर्फ अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ३३ औँ मदन आश्रित स्मृति दिवस तथा ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक विमर्श कार्यक्रममा बोल्दै उनले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र कमजोर पार्ने संकेत देखिएको बताएका हुन् ।
उनले नयाँ सरकार गठन भएको ५० दिन नपुग्दै सरकारले गरेका निर्णय र प्रस्तुत शैलीले आगामी दिनको राजनीतिक दिशा स्पष्ट देखाइसकेको टिप्पणी गरे ।
ज्ञवालीले ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने प्रयास भइरहेको दाबी गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको बताए । उनले श्रमिक, विद्यार्थी र निम्न वर्गका नागरिकका अधिकार क्रमशः संकुचित गरिँदै गएको उल्लेख गरे ।





