Logo
९ जेष्ठ २०८३, शनिबार
|  Sun May 24 2026

‘लु’ को खतरा: तापक्रम ४० डिग्री नाघ्ने, सावधानी अपनाउन विभागको आग्रह


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ ।

विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरेको हो ।

विभागका मौसमविद् सञ्जिव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू–भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिनमार्फत अनुरोध गरिएको बताए ।

उहाँका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मिति यही ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार