नुवाकोट । दुप्चेश्वर गाँउपालिका वडा नम्बर ३ छ्युबार नुवाकोटका ३७ वर्षिय वीरमान तामाङ घ्लानले विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे सफल आराेहण गरेका छन् ।
गत वैशाख १ गते नयाँ वर्षका दिन काठमाडौंबाट प्रस्थान गरेका तामाङ सगरमाथाकाे शिरमा भने २०८३ जेठ ५ गते बिहान १० बजेर ३० मिनेटमा पुगेका थिए । सगरमाथाकाे सफल आराेहण गर्नेहरुकाे लिस्टमा आफ्नाे नाम थपेर उनले थप कीर्तिमानी राख्न सफल भएका छन्। कठिन मौसम, उच्च हिमाली जोखिम र शारीरिक चुनौतीहरू पार गर्दै उनले यो उपलब्धि हासिल गरेका हुन्।
सगरमाथा आराेहण गर्न त्यति सजिलो छैन । सगरमाथा चढ्ने क्रममा धेरै जसाेले ज्यान गुमाउनु परेको घटनाहरु देखेको र सुनेका छाैँ । ठुलो चुनाैती लिएर वीरमानले आफ्नाे सपना पूरा गरेका छन् । काठमाडौबाट नयाँ वर्षकाे अवसर पारेर उनले जीवनकाे एक बलियो लक्ष्यका साथ विभिन्न जिल्लाहरु पार गर्दै साेलुखुम्बु जिल्ला तर्फ यात्रा तय गरेका थिए ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अवस्थित सगरमाथाकाे विभिन्न शिविर क्याम्पहरु हुँदै कठिन परिस्थितिमा पनि लक्ष्य प्राप्तिका लागि अघि बढेर जेठ ५ गतेकाे बिहान १० बजेर ३० मिनेट जाँदा सगरमाथाकाे शिरलाई स्पर्श गर्न पाएका थिए । विगत लामाे समय देखि ट्रेकिङ व्यवसायी तथा ट्रेकिङ पथ प्रदर्शक पेसामा आवद्ध रहेका उनले पहिलोपटक विश्वकाे सबैभन्दा अग्लाे शिखरमा पुग्न पाउँदा आफैलाई भाग्यमानी महसुस गरेको वीरमानले बताएका छन् ।
स्थानीय तह तथा शुभेच्छुकहरूले तामाङको साहस, धैर्यता र लगनशीलताको उच्च प्रशंसा गरेका छन् । उनले सगरमाथा आरोहणमार्फत आफूलाई एक सक्षम पर्वतारोहीको रूपमा स्थापित गरेका छन्। तामाङको यस सफलताले युवापुस्तालाई साहसिक क्षेत्रमा प्रेरणा दिने विश्वास गरिएको छ।





