काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि भइरहेको अनुसन्धान टुंगोमा नपुग्दै उनलाई निर्दोष सावित गर्ने प्रतिष्पर्धा सुरु भएको छ ।
। उनीविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सामाजिक सञ्जालमा अहिले समर्थक समूहहरुले अनुसन्धान प्रक्रियालाई नै प्रभावित पार्ने खालका अभिव्यक्ति सार्वजनिक गरिरहेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्महरूमा ‘गुरूङ निर्दोष छन्’ भन्ने दाबी गर्दै विभिन्न पोस्ट, भिडियो तथा टिप्पणीहरू व्यापक रूपमा फैलिएका छन्। कतिपयले त अनुसन्धानलाई नै राजनीतिक पूर्वाग्रहको परिणाम भएको भन्दै आलोचना गरेका छन् भने अर्कोतर्फ केही प्रयोगकर्ताहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। त्यसमा केही मिडिया समेत अग्रस्थानमा देखिन्छन् ।
उनीमाथि लागेका आरोपबारे छानबीन समितिले अहिलेसम्म बयान समेत लिएको छैन । समितिले बयानको तयारी गरिरहेको छ ।पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले अब गुरुङको बयान लिने तयारी गरेको छ । गुरुङको बयान सकेर प्रतिवेदन सरकारलाई बुझाउने समितिको तयारी छ । तर, बयान पूर्व नै उनी निर्दोष रहेको भन्ने कोणबाट हल्लाहरु फैलिएका छन् । उनी दोषी हुन् या होइनन् भन्ने कुरा समितिको प्रतिवेदनपछि मात्रै केही भन्न सकिन्छ ।
अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र आधिकारिक रूपमा निष्कर्ष सार्वजनिक गरिने जनाइएको छ। यसबीच, सर्वसाधारणलाई सामाजिक सञ्जालमा देखिएका अपुष्ट दाबीहरूमा विश्वास नगर्न र आधिकारिक सूचना कुर्न आग्रह गरिएको छ ।
गुरुङमाथि छानबिन नसकिएको र महिना बित्दा पनि गृहमन्त्री नियुक्त नगरिनुले अब गृहमन्त्री को बन्छ भन्ने चासोका साथ हेरिएको छ । यसबारे रास्वपाले अहिलेसम्म केही निर्णय गर्न सकेको छैन । निर्णय नगर्नु र छानबिनसमेत नसकिनुले गृहमन्त्रीमा पुन: गुरुङ नै आउने सम्भावना रहेको आकलन पनि गरिएको छ ।
यदि छानबिन समितिले उनलाई निर्दोष ठहर गरेको अवस्थामा पुनस् गृहमन्त्री बन्ने सम्भावना कायमै रहेको रास्वपाका नेताहरू पनि स्वीकार्छन् । तर यसका लागि अन्तिम निर्णय भने प्रधानमन्त्री बालेन शाहको हातमा रहेको उनीहरूको बुझाइ छ ।





