ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मानव अधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव अधिकार संरक्षण र प्रवद्र्धनमा आयोगले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताएका छन् ।
उनले नेपालले अल्पविकसित र तथा भू–परिवेष्ठित मुलुकबिचको साझेदारी र समृद्धिका पक्षमा विगतदेखि नै आफ्नो आवाज उठाइरहेको तथा सिमान्तकृत र जोखिममा रहेका समुदायका पक्षमा मानव अधिकार प्रवद्र्धनमा लागिरहेको जानकारी दिए ।
उनले प्रतिनिधिसभामा मानव अधिकार संरक्षण र प्रवद्र्धनका विषयलाई प्राथमिकतामा राखेर कानुन निर्माण गर्ने कार्यलाई अगाडि बढाउने कुरामा प्रतिबद्धता जनाउँदै पेरिस सिद्धान्तअनुरुप स्थापित राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वयत्ततालाई कतैबाट आँच आउन नदिन सबै सदैव प्रतिबद्ध रहनुपर्छ भन्नेमा जोड दिए ।
उनले संसद् र मानव अधिकार संस्थाबीचको परस्पर समन्वयका आधारमा कानुन निर्माणमा ध्यान दिने कुरामा प्रतिबद्ध रहेको बताउँदै मानव बेचबिखनको विषय सम्बोधनका लागि मानव अधिकार आयोग र नागरिक समाजले खेलेको भूमिकाको प्रशंसा गरे ।





