काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
बुधबार नेपाल प्रेस युनियनको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले नेपाली जनता प्रधानमन्त्रीको सम्बोधन सुन्न आतुर रहेका बताएका हुन् ।
लोकतान्त्रिक व्यवस्थामाथि विश्वभर चुनौती बढिरहेको उल्लेख गर्दै यादवले नेपालमा पनि लोकतान्त्रिक मूल्य र संस्थालाई सुदृढ गर्न आवश्यक रहेको बताए ।
पूर्वराष्ट्रपति यादवले संविधान समयानुकूल परिमार्जन हुँदै दीर्घकालसम्म कायम रहोस् भन्ने शुभकामना व्यक्त गरे । उनले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताए ।
पूर्वराष्ट्रपति यादवले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै नयाँ पुस्ताले प्राप्त जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताए ।





