Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको प्रहरीद्वारा उद्धार


बुटवल । भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाएर राखिएका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ ।

भारतीय प्रहरीको सहयोगमा रूपन्देही प्रहरीले शुक्रबार उद्धार गरेर शनिबार नेपाल ल्याइएको हो ।गएराति भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले कुशीनगरबाटै उद्धार गरेको हो ।

आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले नेपालका विभिन्न जिल्लाका युवायुवतीलाई कुशीनगर पुर्‌याएर बन्धक बनाइरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीले अपरेसन सुरू गरेको थियो ।

नेपाल प्रहरीको अपरेसनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि महत्वपूर्ण सहयोग गरेका थिए । बन्धक बनाउने गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्‌याउने र त्यहाँ प्रति व्यक्ति ७ हजार भारतीय रूपैयाँदेखि १ लाखसम्म  रकम असुल गरेर सदस्यता बिस्तार गर्दै नेटवर्किंङ व्यवसायको शैलीमा सदस्यता बिस्तार गर्दै लैजाने गरेका थिए ।

कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका गरी कम्तीमा एक हजार युवायुवतीलाई लगेर बन्दी बनाइएको सूचना प्राप्त गरेको रूपन्देही प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए ।

कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । प्रहरीले त्यही उजुरीका आधारमा अनुसन्धान सुरू गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । जागिरको प्रलोभनमा त्यहाँ पुर्‌याइएका युवायुवतीलाई एक समूहले तालिम दिने र अर्को समूहले सदस्यता शुल्क लिएर सदस्य बिस्तारमा लगाउने गरेको उनले बताए ।

प्रहरीले अहिले बन्धक बनाउने र पीडित सबैलाई ८ वटा भारतीय बसमार्फत नेपाल ल्याएको छ । सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ । तीमध्ये बन्धक बनाउनेको मुख्य गिरोह पहिचान गरेपछि बन्धक बनाएकाहरूलाई परिवारको जिम्मा लगाएर थप अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार