अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेको करका दर हेरफेर विवादको बचाउ गरेका छन् ।
विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रियसभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका हुन् ।
यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री वर्षमान पुनले करका दर हेरफेरको विषयमा छानबिन हुनुपर्ने र त्यो आफूबाट सुरु गरे पनि हुने बताएका थिए । तर, राष्ट्रियसभामा बोल्दै अर्थमन्त्री वाग्लेले आफूमथि अनावश्यक प्रश्न उठाइएको दाबी गरे ।
यस्तो अभ्यास विगतमा पनि भएको मन्त्री वाग्लेको दाबी छ । गत वर्ष ७३ वटा दरहरू हेरफेर गरिएको उनको दाबी छ । ‘एक जना अर्थमन्त्री कुर्लिरहेको मैले देखेँ । उहाँको पालामा पनि २४ वटा संशोधनहरू गर्नुभएको रहेछ । बरु तीचाहिँ विश्लेषणयोग्य छन् । वस्तुका दरहरू इत्यादि दर्जनौँ हेरफेर गरिएको छ,’ पूर्वअर्थमन्त्री पुनतर्फ संकेत गर्दै मन्त्री वाग्लेले भने ।
यसबेला भएको हेरफेर पारदर्शी ढंगले नभएको र आफूले पारदर्शिता कायम गरेको उनको दाबी छ ।





