Logo
२४ भाद्र २०८३, बुधबार
|  Wed Sep 9 2026

होल्डिङ सेन्टर पाँच दिनभित्र खाली गर्न सुकुमवासीलाई अल्टिमेटम


काठमाडौं । सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले दिने भनेको सेवा–सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार होल्डिङ सेन्टरमा लामो समयसम्म मानिसहरूलाई राख्दा उनीहरूको दैनिक जीवन भद्रगोल बनेको छ।

होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनर्स्थापना प्याकेज अघि सारेको भन्दै अब कार्यान्वयन गर्ने समितिले जनाएको छ ।यसअन्तर्गत होल्डिङ सेन्टरभित्र रहेका तथा बाहिर रहेका विस्थापितहरूलाई कोठा खोज्न र प्रारम्भिक बन्दोबस्त मिलाउन सरकारले प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ ।

समितिका अनुसार  हाल उपत्यकाका कुल ६ वटा होल्डिङ सेन्टरहरूमा ३८८ परिवार आश्रित छन्। अहिलेसम्म कसैले पनि राहत रकम बुझिसकेका छैनन्।

राहत वितरण प्रक्रियालाई तीव्र बनाउन समितिले ३ देखि ४ वटा विशेष टोली खटाएको छ । राहत प्राप्त गर्नका लागि पीडित परिवारले आफ्नो खाता नम्बरसहितको निवेदन बुझाउनुपर्नेछ।  निवेदन संकलन र खाता नम्बर प्राप्त हुनासाथ बैंकमार्फत सोझै रकम उपलब्ध गराइने समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार