Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

प्रधानमन्त्रीले सदनको वेवास्ता गरी पार्टीको मञ्च प्रयोग गरेकोमा कांग्रेसको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले संसदमा उठाइएको नेपाल–भारत सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमै स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद काउचाले नेपाली कांग्रेसले सुरुदेखि नै संवेदनशील विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको स्मरण गराइन् ।

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले पटक–पटक संसदमा स्पष्ट जवाफ माग्दै आएको उल्लेख गर्दै उनले त्यसको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्नु नभई संसदको अभिलेखमा रहेको विषय सच्याई नेपालको राष्ट्रिय हित, कूटनीतिक मर्यादा र प्रधानमन्त्री पदको संस्थागत गरिमा जोगाउनु रहेको बताइन् ।

उनले प्रधानमन्त्रीले संसदमा उपस्थित भई जवाफ दिनुभन्दा आफ्नै पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिन रोजेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

सांसद काउचाले नेपालको प्रधानमन्त्रीले संसदभित्र वा बाहिर गर्ने प्रत्येक अभिव्यक्ति व्यक्तिगत वा दलगत मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नेपालको आधिकारिक राजनीतिक सन्देशका रूपमा हेरिने भएकाले यस्ता विषयमा जिम्मेवार हुनुपर्ने धारणा राखिन्।


प्रतिक्रिया दिनुहोस !
विचार