पूर्वप्रधानमन्त्री झलनाथ खनालले रास्वपा नेतृत्वको सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री बालेन शाहलाई ‘तानाशाही’ रहेको आरोप लगाएका छन् । मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा आइतबार बोल्दै उनले प्रधानमन्त्री बालेन शाहलाई ‘तानाशाही’ रहेको आरोप लगाएका हुन् ।
पूर्वप्रधानमन्त्री खनालले अबको आवश्यकता वामपन्थी एकता भएको बताएका छन् । उनले निकै लामो समयपछि दुई प्रमुख वामपन्थी दलका नेताहरू एकै ठाउँ उपस्थित भएकोमा खुसी लागेको बताए ।
उनले साम्राज्यवादी र प्रतिक्रियावादीहरूलाई परास्त गर्न एक हुनुको विकल्प नगरेको जिकिरसमेत गरेका छन् । उनले आजकै मितिदेखि कार्यगत एकता गरेर जानुपर्ने बताए । आज नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले चुनावअघि नै एकता गरेको भए आज यो हविगत भोग्न नपर्ने अनुमान गरे ।
खनालले आफूले पाएको अवसर खेर गएको बारे पनि गम्भीर आत्मसमीक्षा गर्दै नयाँ धरातलबाट अघि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याए ।





