झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन्।
आइतबार राति झापा आइपुगेका गृहमन्त्री गुरुङले सोमबार अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरेका छन्।
भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डे सहभागी थिए।
सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्कर नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचविखनलगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको छ।
गृहमन्त्री गुरुङ आज बिहान १०ः२० बजे सालबारीबाट मेचीनगर नगरपालिका–४ स्थित बाँहुण्डाँगीको हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका थिए। सोही क्रममा उनले बुद्धशान्ति गाउँपालिका–६ सन्तपुर पुगेर जेन–जी आन्दोलनका क्रममा घाइते हुनुभएका अनिकेत चौलागाईँसँग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। भेटपछि उनी पुनः बाहुण्डाँगीतर्फ प्रस्थान गरेका छन्।
गृहमन्त्री गुरुङले मेचीनगर नगरपालिका–७ इट्टाभट्टास्थित सशस्त्र प्रहरी बल नेपालको जोरसिमल चेकपोष्टको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिए।
त्यसपछि उनी मेचीनगर–६ स्थित काँकरभिट्टा नाकामा पुगेर सीमा नाकाको समग्र सुरक्षा व्यवस्था तथा यात्रु जाँच कक्षको स्थलगत अनुगमन गरेका थिए। त्यसलगत्तै उनले मेची भन्सार कार्यालयको निरीक्षण गरी राजस्व सङ्कलन, भन्सार व्यवस्थापन तथा सीमा नाकाबाट हुने आवतजावतको अवस्थाबारे जानकारी लिएका थिए।
झापा–भारत सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध ओसारपसार, मानव बेचविखन, अवैध सीमा गतिविधि तथा बाँहुण्डाँगी क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको जङ्गली हात्तीको समस्याप्रति गृहमन्त्रीले विशेष चासो व्यक्त गरेका छन्। उनले सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरी आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।
बाँहुण्डाँगीमा उनले जङ्गली हात्तीबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग प्रत्यक्ष सम्बाद गरी त्यहाँका जनताले भोगिरहेका समस्या, गुनासा र सुझाव सङ्कलन गर्नुहुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङको भ्रमणलाई मध्यनजर गर्दै झापामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी प्रशासनका अनुसार सुरक्षा निकाय विगत करिब ३६ घण्टादेखि उच्च सतर्कताका साथ परिचालित छन्।





