काठमाडौँ । नेकपा एमालेले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको भन्दै आपत्ति जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुम निरज आचर्याले यस्तो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताएका हुन् । उनले भनेका छन्, ‘विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको र आतंकित पारिएको छ । आज बिहानैदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेस्र्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो।’
उनले स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ’स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो। सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको भत्र्सना गर्दछौ । यस सम्बन्धमा नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूलाई पूर्ण समर्थन गर्दछौँ ।’
एमाले नेता प्रदीप ज्ञवालीले ‘तर्साउने र मुख थुन्ने धृष्टता ?’ भन्दै प्रश्न गरेका छन् ।पत्रकार महासंघले पनि विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रुपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।
अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले यस्तो कदमले आफूहरु नतर्सने बताएका छन् । उनले चेतावनी दिँदै भनेका छन्, ‘गणेश नेपाली आत्मदाह लगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहिता चाहिएको थियो । र चाहिएको थियो आइन्दा यस्ता घटना सकभर नहुन् भन्नेगरी यथोचित कदम । तर राज्य संवेदनशील अभिभावक र सबैलाई जोड्ने कनेक्टर बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएका छन् । तर्साउन गरेका हौ यो सब, तिमीहरुले । तर्सिन्नौं । आफ्नो जिम्मेवारी पूरा निष्ठा र संकल्पका साथ पूरा गर्छौं ।’
अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको छ । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको हो । पार्किङ गरिएका सवारीसाधन दिउँसो प्रहरीले हटाएको छ । सरकार समर्थकले यस्तो गरेको भन्दै यस कदमको सर्वत्र विरोध भइरहेको छ ।





