Logo
२९ भाद्र २०८३, सोमबार
|  Tue Sep 15 2026

मिडिया हाउसलाई संकुचन गर्ने कुनै पनि क्रियाकलाप स्वीकार्य हुँदैन:रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।

पार्टीका महामन्त्री विपिन कुमार आचार्यले सोमबार विज्ञप्ति जारी गरी आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रतामाथिको ठाडो उल्लंघन भएको उल्लेख गरेका हुन् ।

रास्वपाले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई संकुचित पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।

विज्ञप्तिमा घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

रास्वपाले सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सधैं उभिने प्रतिबद्धता पनि दोहोर्याएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार