Logo
२९ भाद्र २०८३, सोमबार
|  Mon Sep 14 2026

पहिरोमा परी मुगुमा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा एक तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।

शनिबार बिहान करिब ४ बजे पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो घरमाथि खसेको प्रहरीले जनाएको छ।

पहिरोमा च्यापिएका रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले उद्धार गरी बिहान ४ः४८ बजे पुलु स्वास्थ्य चौकी पुर्याएको थियो। उपचारकै क्रममा बिहान ५ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा घाइते भएका जगनाथ र सृजना बडुवालको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

पहिरोका कारण उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। थप पहिरो खस्ने जोखिम रहेकाले आसपासका आठ घर उच्च जोखिममा परेको भन्दै स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार