Logo
११ श्रावण २०८३, सोमबार
|  Mon Jul 27 2026

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन आज


काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन हुँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, काठमाडौंस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।

उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ । उद्घाटनपछि पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई प्रवेश दिइनेछ ।

केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन हुन दिइनेछ । दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ । सडक विभागका अनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौं आउँदा २६० र बाहिरिँदा २०० रुपैयाँ बराबरको शुल्क तिर्नुपर्नेछ । पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् ।

डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ । जापान सरकारको २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ बराबरको लगानीमा सुरुङमार्ग निर्माण भएको हो ।

निर्माण सुरु गर्दा ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कोराना महामारी तथा अन्य केही जटिलताका कारण आयोजना ढिला सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार