काठमाडौं । सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने माइस्थान–गौशाला–सम्सी सडक तथा बर्दिबास–जलेश्वर सडक खण्डमा भएका अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम दिएको छ ।
बिहीबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ३५ दिनभित्र सडक क्षेत्र खाली गर्न अल्टिमेटम दिएको हो । प्रधानमन्त्री बालेन साहले त्यहाँ डोजर चलाउनेबारेमा चासो राख्दै आएका थिए । डिभिजनले सडक ऐन, २०३१ अनुसार दुवै सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र रहेका सबै प्रकारका अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ ।
सूचनाअनुसार सडक क्षेत्रमा सवारी पार्किङ गर्ने, व्यापारिक सामग्री राख्ने, विज्ञापन बोर्ड टाँस्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारामा खुद्रा व्यापार सञ्चालन गर्ने तथा अस्थायी संरचना निर्माण गर्ने गतिविधिका कारण यातायात सञ्चालन, ट्राफिक व्यवस्थापन र सर्वसाधारणको आवागमनमा बाधा पुगेको छ ।
तोकिएको अवधिभित्र अतिक्रमण नहटाए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ र २० बमोजिम अनधिकृत संरचना हटाउने तथा भत्काउने कारबाही अघि बढाइने जनाएको छ । साथै अतिक्रमण हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुलउपर गरिने चेतावनी पनि सूचनामा उल्लेख गरिएको छ।





