Logo
८ कार्तिक २०८३, आईतवार
|  Sun Oct 25 2026

रुसी व्यापारिक जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी


मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाफमा रूसले पनि प्रतिशोधात्मक कदम चाल्ने चेतावनी दिएका छन् ।

प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा बुधबार बोल्दै पुटिनले केही देशका अधिकारीले अन्तर्राष्ट्रिय समुद्री कानुन उल्लङ्घन गर्दै रुसी आर्थिक संस्थाका जहाज तथा अन्य शान्तिपूर्ण पानीजहाजको आवागमनमा अवरोध सिर्जना गर्न खोजेको बताए ।

जुलाईको अन्त्यमा इयूले थप ४१ वटा ‘छाया फ्लीट’ जहाजलाई बन्दरगाहमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । साथै, रूसलाई तरल प्राकृतिक ग्यास (एलएनजी) ढुवानी गर्ने ट्याङ्कर बिक्री गर्दा अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था पनि गरेको थियो ।

रूसले पश्चिमी मुलुकले युक्रेन युद्धका कारण लगाएका प्रतिबन्ध छल्न ‘छाया फ्लीट’ प्रयोग गर्दै आएको आरोप लाग्दै आएको छ । ती जहाजमार्फत रूसी तेल तथा अन्य वस्तुको ढुवानी हुने गरेको पश्चिमी मुलुकको दाबी छ । पुटिनले जापानले रूसमाथि लगाएका प्रतिबन्धप्रति पनि आपत्ति जनाउँदै एसिया–प्रशान्त क्षेत्रमा तनाव बढिरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार