काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति शेरबहादुर देउवाबाट सबै पक्षलाई समेट्ने र एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको बताएका छन् ।
शुक्रकार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।देउवाले आफ्नो लिखित अभिव्यक्तिमा परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढाउने प्रतिबद्धता जनाएको सन्दर्भ उल्लेख गर्दै उपसभापति शर्माले उक्त विचारलाई अहिलेको राष्ट्रिय भेलाको केन्द्रमा राखिनुपर्ने बताए। उनले विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार नगर्दा पार्टीभित्र गम्भीर प्रश्न उब्जाउने बताए ।
उनले देशको कार्यकारी प्रमुखका रूपमा युवालाई स्वीकार्न सक्नेले पार्टीको नेतृत्वमा पनि सोही उमेर समूहका व्यक्तिलाई स्वीकार गर्न उदार हृदय राख्नुपर्ने बताए । उपसभापति शर्माले आफूहरूले आउँदो १५ औँ महाधिवेशनबाट वर्तमान सभापति गगन थापालाई अत्यधिक मतसहित विजयी गराएर सभापति बनाउने बताए । उनले पार्टीको १५ औँ महाधिवेशन तोकिएकै समयमा हुने बताए ।





