Logo
३० श्रावण २०८३, शनिबार
|  Sat Aug 15 2026

कांग्रेसमा युवालाई कम्तीमा २० प्रतिशत प्रतिनिधित्वको प्रस्ताव


नेपाली कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेलामा शुक्रबार मन्तव्य राख्नुहुँदै कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लेखक। तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा कानुन तथा विधान समिति संयोजक रमेश लेखकले पार्टीको विधान संशोधनका लागि ४३ बुँदे अवधारणा पत्र प्रस्तुत गरेका छन् । लेखकले पार्टीलाई समयअनुकूल, प्रविधिमैत्री, अनुशासित, समावेशी र लोकतान्त्रिक बनाउँदै आन्तरिक लोकतन्त्र तथा संगठनात्मक एकता सुदृढ गर्न विधान संशोधन आवश्यक रहेको बताएका छन्।

प्रस्तावमा सदस्यता प्रणालीलाई डिजिटल बनाउनेदेखि पार्टीका विभिन्न तहमा युवाको प्रतिनिधित्व बढाउने, उम्मेदवार छनोटलाई योग्यता, क्षमता र योगदानमा आधारित बनाउने तथा एउटै व्यक्तिले पटक–पटक अवसर पाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

अवधारणा पत्रमा सदस्यता डिजिटल प्रविधिमार्फत प्राप्त, नवीकरण र हटाउन सकिने व्यवस्था गर्न सुझाव दिइएको छ। पार्टीका सबै तहमा सदस्यता वितरण तथा नवीकरणसम्बन्धी कामलाई कम्प्युटर प्रणालीमा आधारित बनाउने प्रस्तावसमेत गरिएको छ।

केन्द्रीय कार्यसमितिमा सभापतिले मनोनयन गर्ने सदस्यको कोटाबाट विभिन्न क्षेत्रका विशेषज्ञका लागि कम्तीमा २५ प्रतिशत सिट सुनिश्चित गर्नुपर्ने प्रस्ताव पनि अवधारणा पत्रमा छ।

विभिन्न तहमा एकपटक निर्वाचित भएका व्यक्ति सोही तहमा पटक–पटक दोहोरिन नदिन ‘कुलिङ’ अवधि तोक्ने, एक व्यक्ति एकै समयमा एक पदमा मात्र जिम्मेवारीमा रहने तथा समानुपातिक प्रणालीमा एउटै व्यक्तिलाई निरन्तर अवसर दिने प्रवृत्तिलाई निरुत्साहित गर्ने प्रस्ताव पनि गरिएको छ।

लेखकले कांग्रेसको आन्तरिक जीवनलाई थप पारदर्शी र जवाफदेही बनाउन डिजिटल एप्लिकेसन सञ्चालन गर्ने, केन्द्रीय निर्वाचन प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने तथा पार्टीका विभिन्न तहका निर्वाचित सभापति र पदाधिकारीविरुद्धको अविश्वास प्रस्तावसम्बन्धी व्यवस्थालाई समयसापेक्ष बनाउने सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार