झापा । झापा जिल्ला पाँचगाछी–४, बोलोचोक निवासी, बोलोचोक विकास समितिका अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका आजीवन सदस्य तथा गीतकार प्रो. डा. धर्मेन्द्र कुमार शाहले आफ्नो जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै आउनुभएको छ।
आज जन्मदिनकाे अवसरमा प्रो.डा.शाहले शंखरापुर नगरपालिकास्थित वडा नं. -६ मा अवस्थित द्वन्द्व पीडित तथा अपाङ्ग समाजमा आश्रीत बालबालिकाहरूकाे पालनपोषणमा सहज हुन सकाेस भन्ने अभिप्रायले एक छाक खानाका लागि सहयोग उपलव्ध गराउनुभएकाे छ। उक्त कार्यका लागि संयोजन समाजसेवी एवं पत्रकार मायालु लामाले गर्नुभएको थियो ।
२०७६ सालदेखि जन्मदिनमा अनावश्यक खर्च नगरी सामाजिक तथा रचनात्मक कार्यमा सहयोग गर्ने अभियान सञ्चालन गर्दै आउनुभएका डा. शाहले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च नगरी सक्दो सामाजिक कार्यमा हातेमालो गर्न सबैलाई आग्रह गर्नुभएको छ।
प्रो.डा. शाहले झापाका विभिन्न विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्नुका साथै देशका विभिन्न जिल्लामा सञ्चालित बालआश्रमलाई शैक्षिक सामग्री तथा आवश्यक खाद्यान्न सहयोग गर्दै आउनुभएको छ। त्यस्तै, चेपाङ, वनकरिया लगायतका समुदाय तथा काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न आश्रममा समेत शैक्षिक सामग्री र खाद्यान्न सहयोग गर्दै आउनुभएको छ।
मानवसेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका प्रो.डा. शाहले यूएईमा अन्तर्राष्ट्रिय सामाजिक अवार्ड प्राप्त गर्नुका साथै विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्डसमेत हात पारिसक्नुभएको छ। सामाजिक सेवासँगै साहित्य तथा संगीत क्षेत्रमा समेत सक्रिय उहाँका विभिन्न सिर्जनाहरूले समेत चर्चा पाएका छन्।
जन्मदिनको अवसरमा मानवसेवाका क्षेत्रमा सहयोग गर्न पाउँदा आफूलाई आत्मिक सन्तुष्टि मिल्ने डा. शाहको भनाइ छ। उहाँले मानवसेवा नै मुख्य धर्म भएको उल्लेख गर्दै असहाय, आमाबुवा तथा दिदीबहिनीहरूलाई सहयोग गर्नु नै साँचो अर्थमा पुण्य कमाउनु भएको बताउनुभएको छ।
प्रो. डा. शाह विभिन्न सामाजिक संस्थासँग आबद्ध बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। सामाजिक सेवा, साहित्य, संगीत तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर सक्रिय उहाँलाई सहयोगी मनका धनी सामाजिक व्यक्तित्वका रूपमा समेत चिनिन्छ।
काठमाडौंको साँखुस्थित उक्त संस्था एक गैरसरकारी संस्था हो, जसले सन् २००५ देखि द्वन्द्व प्रभावित र अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न काम गरिरहेको छ । यस संस्थाले आश्रयस्थल सञ्चालन गरी हाल ५५ जना अपांगता भएका तथा द्धन्द्ध प्रभावित व्यक्तिहरूको उद्धार र आरक्षण दिएको संस्थापक अध्यक्ष युवराज थापाले बताउनुभयो।







