Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

थेराङ खोलाको बाढीले चार घर बगायो, मनास्लु पदयात्रा प्रभावित


गोरखा । गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । आज विहान आएको बाढीले चुमनुब्री ४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । बाढी आएको बारे थाहा पाएर स्थानीयवासी भागेर ज्यान जोगाएका उनले बताए । बाढीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको कार्यालयले जनाएको छ ।

पुल बाढीले लगेपछि मनास्लु पदयात्रामा गएका पर्यटकहरु समस्यामा पर्ने जनाइएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अल्पकालीन रुपमा हिँड्न मिल्ने गरी स्थानीयले केही उपाय गर्न सक्ने बताए।

खोलाको मुहानी भेगतिर केही बेर थुनिएर लेदोसहित आएको बाढीले क्षति पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । खोला बूढीगण्डकीसँग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार