धादिङ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनर्स्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।
धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उनले विपद्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताए ।सभामुख अर्यालले बाढीबाट विस्थापित परिवारलाई यथाशीघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउने गरी पुनर्स्थापनाका काम द्रुत प्रक्रियाबाट अघि बढाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।
राहत वितरणलाई न्यायोचित र व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकद्वार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।वास्तविक पीडितको पहिचान गरी सबै प्रभावित परिवारले समान रूपमा राहत पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
सभामुख अर्यालले प्रभावित नागरिकलाई अनावश्यक प्रशासनिक झन्झट नदिई स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकाय आफैँ प्रभावित क्षेत्रमा पुगेर मानवीय तथा भौतिक क्षतिसँगै कृषि, व्यापार–व्यवसाय र जीविकोपार्जनमा पुगेको क्षतिको यथार्थ विवरण संकलन गर्नुपर्ने बताए ।उनले जोखिमयुक्त बस्तीको सुरक्षित स्थानान्तरण तथा दीर्घकालीन पुनर्निर्माणका लागि भविष्यको जोखिमसमेत ध्यानमा राखेर नीति र मापदण्ड निर्माण गर्नुपर्ने उल्लेख गरे ।।








