काठमाडौं । गाउँ फर्किन नसकेका नुवाकोट पञ्चकन्याका ज्येष्ठ नागरिकलाई काठमाडौंमै सामाजिक सुरक्षा भत्ता नवीकरणको सुविधा दिइएको छ। छोराछोरीसँग विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका तथा पछिल्लो समय आएको बाढीपहिरो र भौगोलिक कठिनाइका कारण गाउँ पुगेर भत्ता नवीकरण गर्न समस्या झेलिरहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी काठमाडौंमै चार दिने शिविर सञ्चालन गरिएको हो।
पञ्चकन्या गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रामशरण श्रेष्ठको नेतृत्व तथा पाँचवटै वडाका वडा सचिवहरूको सहकार्यमा तारकेश्वर नगरपालिकास्थित अनुपम पार्टी प्यालेसमा भदौ २३ देखि २६ गतेसम्म शिविर सञ्चालन भइरहेको छ। गाउँपालिकाका अनुसार भदौ २५ गतेसम्म मात्रै ६५० भन्दा बढी ज्येष्ठ नागरिकले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा लिइसकेका छन्।
गाउँमै पुगेर सेवा लिनुपर्ने बाध्यता हटाउँदै काठमाडौंमै सेवा पाएपछि ज्येष्ठ नागरिकहरू पनि खुसी भएका छन्। स्थानीय ज्येष्ठ नागरिक मानकुमारी उप्रेतीले गाउँमै गएर भत्ता नवीकरण गर्नुपरेको भए आफूहरूलाई निकै कठिन हुने भन्दै काठमाडौंमै सेवा पाउँदा सहज भएको बताइन्।उनले भनिन्, “गाउँमै गएर वृद्धभत्ता नवीकरण गर्नुपर्ने अवस्था भएको भए हामीलाई निकै गाह्रो हुन्थ्यो। यहाँ नै आएर सेवा पाउँदा धेरै खुसी लागेको छ। वडा अध्यक्षज्यू आफैं खटिएर हामीलाई सहज बनाइदिनुभएको छ। यही नै त सरकार घरघरमा पुग्नु भनेको हो।”
भौगोलिक विकटता, बाढीपहिरो तथा यातायातको कठिनाइका कारण ज्येष्ठ नागरिकलाई गाउँसम्म पुगेर सरकारी सेवा लिन समस्या भइरहेका बेला काठमाडौंमै शिविर सञ्चालन गरिएको हो। स्थानीय तहका प्रशासनिक सेवा लिन नागरिकलाई अनावश्यक रूपमा गाउँसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै काठमाडौंमै सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। ज्येष्ठ नागरिकलाई सहज, पहुँचयोग्य र घरदैलोमै सरकारी सेवा दिने प्रयासका रूपमा पञ्चकन्या गाउँपालिकाको यो पहललाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।








