अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङको अमेरिकाको तीनदिने भ्रमणका क्रममा विशेष स्वागत गरेका छन् । सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प ज्वाइन्ट बेस एन्ड्र्युजको रनवेमा पुगेका थिए । उनीहरूको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो ।
बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार सन् १९६२ पछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिले यही एयरबेसमा विदेशी राष्ट्रप्रमुखलाई व्यक्तिगत रूपमा स्वागत गरेका हुन् ।
विमानबाट ओर्लिएपछि ट्रम्प र सीले हात मिलाएका थिए । दुवै नेतासँग उनीहरूका पत्नी पनि उपस्थित थिए । सीको स्वागतका क्रममा अमेरिकी वायुसेनाका दुई बी–१ बमवर्षक विमानले आकाशमा उडान भरेका थिए ।
त्यस अवसरमा अमेरिकी वायुसेनाको ब्यान्डले अमेरिका र चीन दुवै देशका राष्ट्रगान बजाएको थियो भने दुवै देशका झण्डा फहराइएको थियो । स्वागत समारोहपछि ट्रम्प र सी छुट्टाछुट्टै वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका थिए ।








