Logo
११ आश्विन २०८३, आईतवार
|  Sun Sep 27 2026

तिनाउ बाढीः बुटवलमा बगायो ६ घर,एक हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो


बुटवल । तिनाउ नदीमा आएको बाढीले बुटवलका ६ वटा घर बगाएको छ। चार दिनदेखि लगातार परेको वर्षापछि शनिबार राति बढेको बाढीले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ टप मझुवा क्षेत्रका ६ वटा घर  बगाएको प्रहरीले जनाएको छ।

शनिबार दिनभर खतराको तह ननाघेको तिनाउ नदीले साँझदेखि परेको भीषण वर्षापछि खतराको तह नाघेर नदीबाट बस्तीलाई सुरक्षित बनाउन लगाइएको पक्की तटबन्ध बगाएर नदीको छेउमै रहेका ६ वटा घर बगाएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बाढीले खतराको तह नाघेपछि राति १२ बजेतिर टप मजुवा, प्रगतिनगर, हात्तीसुढ, युद्धनगर लगायतका बस्तीका १ हजार भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रहरीकाअनुसार अहिलेसम्म मानवीय क्षति भने नभएको र नदी किनारमा बसोबास गरिरहेका विभिन्न बस्तीका १ हजार भन्दा बढिलाई सुरक्षित स्थानमा राखिएको छ ।

बाढी बढेपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको रोहवरमा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो। नगरप्रमुख पाण्डे बाढीबाट जोखिम रहेका बस्तीमा पुगेर स्थानीयलाई सुरक्षित स्थानमा लैजान खटिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार