काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको छ।शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ। बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो।
प्रस्ताव पारित भएपछि शर्माले कांग्रेसको बन्दसत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक विषयका रूपमा व्याख्या गरे।उनले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए।
शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए। महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै शर्माले कांग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृतिअनुसार अघि बढाउनु रहेको बताए।उनले कांग्रेसभित्र लोकतान्त्रिक संस्कृतिलाई थप बलियो बनाउँदै पार्टीलाई जनताले सुन्ने, विश्वास गर्ने र भरोसा गर्ने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।








