Logo
७ कार्तिक २०८३, शनिबार
|  Sat Oct 24 2026

पोखरा–दुबई उडानको एक महिना : ६ हजारभन्दा बढी यात्रुले लिए सेवा


पोखरा ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ । फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान शुरू गरेको थियो ।

एक महिनामा ३० वटा उडान सञ्चालनमा दुबई–पोखरा चार हजार ५२१ र पोखरा–दुबई एक हजार ८४१ गरी छ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक जगन्नाथ निरौलाले बताए । उनका अनुसार सुरुआतको एक महिना अन्तर्राष्ट्रिय उडानलाई उत्साहजनक रूपमा लिइएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित उडानको पहिलो महिनाको उपलब्धिलाई उत्साहजनक बताउँदै पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिए । व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि उनले अनुरोध गरे ।

फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले दुबईलाई मात्र नभई त्यहाँबाट जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान बिन्दु बनाउन आग्रह गरेका छन् ।

लामो समयपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउनुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

विसं २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । कहिलेकाँही अन्तरराष्ट्रिय चार्टर उडान हुनु बाहेक यो विमानस्थल आन्तरिक उडानमा सीमित बनेको थियो । फ्लाइ दुबईको उडानपछि अन्य विमान कम्पनी समेत पोखरामा उडान भर्न आकर्षित भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार