default
म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पुर्याएको हो ।
बेनीदेखि धौलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकमा करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । बाढीपहिरो र नदी कटानले सडकको सतह भासिनुका साथै ग्यावियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा पूर्वाधारमा ठूलो क्षति पुगेको कार्यालयका इन्जिनियर मोहन रुवालीले जानकारी दिए ।
उनका अनुसार बेनीदेखि मङ्गला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक संरचनामा क्षति पुगेको छ । नदी कटानका कारण दुई स्थानमा सडक भत्किएको छ । यस खण्डमा मात्रै सडक पूर्वाधारमा रु तीनदेखि चार करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
मालिका गाउँपालिका–६ स्थित बलौटेमा म्याग्दी नदी कटानले करिब १०० मिटर कालोपत्र सडक बगाएर क्षतविक्षत बनाएको छ । पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेर सडकमा क्षति पुगेको छ । त्यस्तै, दरवाङदेखि मुना खण्डको धारापानीमा करिब १५० मिटर ढलान गरिएको सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचनामा क्षति पुर्याएको छ ।
सडकमा क्षति पुगेपछि बेनीदेखि मुनासम्मको सीधा यातायात प्रभावित भएको छ । बलौटेदेखि तोलाबाङसम्मको सडकमा ठूलो क्षति पुगेपछि मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुलदेखि दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिएको छ ।








