राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
उक्त दिन बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभा बैठक बस्नेछ । यसअघि बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभा बैठक बस्ने गरेकामा जेनजी आन्दोलनका क्रममा जलाइएपछि सिंहदरबारमा बस्न लागेको हो ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।’
आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।





