Logo
२ असार २०८३, मंगलवार
|  Tue Jun 16 2026

सुदन गुरुङको स्पष्ट सन्देश: वैकल्पिक शक्तिको एकीकरणमा पार्टीगत संलग्नता छैन


जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदको शवसँग खिचिएको तस्वीर सार्वजनिक गर्दै आन्दोलनको दिशाबारे स्पष्ट धारणा व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै गुरुङले राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि राख्दै सम्पूर्ण वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले एकीकरण अभियान अघि बढाइरहेको बताए। उनले उक्त अभियान कुनै पनि राजनीतिक दलसँग आवद्ध नभएको स्पष्ट पारेका छन्।

उनले सत्तामा रहेको शक्ति, पद वा व्यक्तिगत प्रसिद्धिले आफूहरूलाई कहिल्यै आकर्षित नगरेको र भविष्यमा पनि नहुने दाबी गरेका छन्। शहीदहरूको बलिदानमा टेकेर सत्तामा पुग्ने सपना देखिरहेका विभिन्न उदाउँदै गरेका राजनीतिक शक्तिहरूप्रति लक्षित गर्दै गुरुङले कडा सन्देश दिएका छन्।

उनका अनुसार जेनजी आन्दोलनको जनादेश स्पष्ट रहेको छ। साहसी जेनजी दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेतृत्व र सम्मानजनक स्थान दिने, साथै शहीद र घाइतेहरूको बलिदानलाई प्राथमिकतामा राख्ने शक्तिलाई मात्र जेनजी आन्दोलनले स्वीकार गर्ने उनले बताएका छन्।

गुरुङको यो अभिव्यक्तिलाई जेनजी आन्दोलनको भावी दिशा र राजनीतिक भूमिकाबारे महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ।

उनले लेखेका छन्ः

“त्यो चिसो खुट्टाको कसम”
राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि मानेर सम्पूर्ण वैकल्पिक शक्तिलाई एउटै डालोमा ल्याउनका निम्ति एकीकरण अभियान चलाउँदै गर्दा हाम्रो कुनै पनि राजनैतिक दलमा संलग्नता नरहेको स्पष्ट गर्न चाहन्छु।
सत्तामा रहेको शक्ति पद वा व्यक्तिगत प्रसिद्धताले हामी कहिल्यै आकर्षित वा लाभान्वित भएका छैनौं हुने पनि छैनौँ।हाम्रो दाजुभाइ र दिदीबहिनीको बलिदानमा उभिएर सत्तामा पुग्ने सपना हेर्दै गरेका सम्पूर्ण उदाउँदै गरेका विभिन्न राजनैतिक शक्तिहरूलाई स्मरण रहोस् जेन्जीको जनादेश, साहसी जेन–जी दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेतृत्व र सम्मानजनक स्थान र सहिद तथा घाइतेका बलिदानलाई प्राथमिकतामा राख्ने शक्तिलाई मात्र हामी स्वीकार्ने छौं । 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार