काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते राजधानीमा बृहत्त शक्ति–प्रदर्शन गर्ने घोषणा गरेपछि अहिले फेरी देशैभरी चर्चा–परिचर्चा चलिरहेको छ। समर्थकहरू सामाजिक सञ्जालमा यसरी उत्साहित भएका छन् की सरकारले वार्तामा बोलाउँदा पनि दुर्गाको आन्दोलन रोकिने कुनै छाँट देखिएको छैन् ।
सल्लाह बिना नै दर्जनौँ फेसबुक, एक्स, इन्स्टाग्राम, युट्युब र टिकटक एकाउन्टहरूबाट एकै स्वरमा प्रसाई ‘७ गते काठमाडौँमा खुट्टा पु¥याउनै पर्छ’ भन्दै जनतालाई बोलाइरहेका छन्। प्रसाईंनिकट दिपेश प्रसाईँ त झन् देशभरिबाट १०–१५ लाख मानिस काठमाडौं आउने दाबी गर्दै आएका छन् । अझ ४ लाखले सदस्यता लिएको भन्ने पत्याउनै गाहे हुने दाबी पनि उनले गर्दै आएका छन् । यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको तर यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुने प्रसाईको दाबी छ ।
कार्तिक २६ गते सरकारले प्रसाईलाई वार्तामा बोलायो, तर प्रसाई वार्तामा गएनन् । उनले गृहमन्त्रीसँग वार्ता गर्न आफ्नो लेभल नमिल्ने भन्दै आफ्ना सहयोगीहरुलाई वार्तामा पठाए । आफ्नो लेभल प्रधानमन्त्री बराबर भएको दाबी गर्ने उनी प्रधानमन्त्री बाहेक अरु कसैसँग पनि वार्तामा नवस्ने बताउँदै आएका छन् । प्रसाईंले पछिल्ला महिनामा गणतन्त्रदेखि धर्मनिरपेक्षता र संघीयतासम्म, जसलाई भेट्यो त्यसैलाई विकल्प खोज्ने अभियान चलाइरहेका छन्। यो अभियानलाई उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ नाम दिएका छन् । नाम लम्बाइको हिसाबले मात्र हेर्ने हो भने, नेपाली राजनीतिक इतिहासमै सबैभन्दा “दायरा–विस्तारित” अभियान मानिन्छ।
समर्थकहरूले प्रसाईंलाई यति समर्थन देखाइदिएका छन् कि अब राजा, प्रधानमन्त्री र मन्त्री को बन्छ? कसैलाई थाहा छैन। तर दुर्गा प्रसाईको अभियान सफल बनाउनु पर्छ भन्नेहरुको पनि कमि छैन् । दुर्गाले एक बचन बोलेकै भरमा सवथोक गर्न पछि नपर्नेहरुले आन्दोलन त गर्लान तर आन्दोलनको उपलब्धी के हो भन्ने राम्ररी ठम्याउन सक्दैनन् । केही राजनीतिक रतन्दो लागेकाहरुलाई देश र जनताको भन्दा नेताको भक्तिगान गाए पुग्छ ।
त्यति मात्रै होइन् दर्शकवृन्द, प्रसाईको प्रचार सामाग्रीमा त अझ ‘१६ जना तस्कर माडवारी, १० जना लुटेरा व्यापारी र ३० जना भ्रष्ट नेता भाग्न सक्ने भन्दै प्रचार गरिएको छ । प्रसाईको यो शैली हेर्दा कतै यो चलचित्र ‘क’ को ट्रेलर त होइन भन्ने भ्रम समेत पैदा हुन्छ। त्यति मात्रै होइन्, प्रसाईंले गर्ने भनिएको आन्दोलनको उदेश्य हेर्दा लाग्छ उनी बैंकले लिलाम गरेका सम्पत्ति फिर्ता, सुकुम्बासी बनाउन नपाइने कानुन, बन्द उद्योग पुनर्जीवन, अरबौँ कर मिनाह खारेजी, ५०० र १००० का नोट बन्दी, र वैदिक–सनातन सापेक्ष राज्य प्रणाली चाहन्छन् । त्यो पनि आजको भोली । तर प्रसाईले भनेको जस्तै शासन व्यवस्था र प्रणली अहिले ने नेपाललमा सम्भव होला त ?
एक समय माओवादी केन्द्रका अध्यक्ष दाहालदेखि एमाले अध्यक्ष ओलीसम्म सबैतिर नजिक भएका प्रसाईंले दुई नेतालाई घरमा बोलाएर ‘चरेसको थालमा मार्सी भात’ खुवाएको तस्बिर आज पनि सामाजिक सञ्जालका पुराना स्मृतिमा टाँसिएको छ। तर समय बदलियो—नेता बदलिए—र प्रसाईं सडकमा आए। ‘अर्बौँ ऋण नतिर्ने’ आरोपले त झन् दुर्गालाई “घरको बाघ बाहिर स्याल” को जस्तै छाप बनाइदिएको छ। भन्न त उनी आफ्ना रहेक औपचारिक र अनौपचारिक कार्यक्रममा व्याजदेखी विलसम्म तिरेका प्रमाण भन्दै देखाउँछन् । तर खै किन हो, प्रसाईलाई बैंकको ऋण नतिरेको आरोपले छाडेको छैन् । दुर्गाको भाग्य नै यस्तै हो की नियतै खराव छ।
हरेक कार्यक्रम र सामाजिक संञ्जालमा प्रसाईले भन्दै आएको एउटा कुरा मंसिर ७ गते काठमाडौंमा १५ लाख मानिस आउने दाबी गर्दै आएका छन् । साँच्चै १५ लाख मानिस आउँछन् की १५ हजारपनि नपुग्ने हुन् त्यो हेर्न बाँकी छ । अझ १५ दिनसम्म काठमाडौं नै बन्द गर्ने भन्दै उनले घरमा खानेकुरा र ग्यासको प्रवन्ध गर्न भनिरहेका छन् । तर यति भने निश्चित छ, मंसिर ७ को काठमाडौँले एउटा ठूला दाबीको परीक्षा दिनेछ, र परिणाममा शून्य हात लागे पनि यो नेपाल हो, यहाँ यस्ता आन्दोलनको कुनै कमि हुने छैन् ।






