राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन कार्यतालिकामा हेरफेर गरेको छ । तोकिएको समयमा जिल्ला अधिवेशन गर्न नसकेको राप्रपाले फेरि म्याद थप्ने निर्णय गरेको हो । पार्टी अध्यक्षहरु कमल थापा, डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणाको उपस्थितिमा बसेको केन्द्रीय बिशेष समितिको बैठकले जिल्ला अधिवेशन कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको राप्रपाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
राप्रपाले असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद पछिल्लो समय थप गरेको थियो । तर सो अवधिमा ५२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ । यस्तै बैठकले सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कार्तिक १० गतेसम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कार्तिक ११ देखि १७ गतेसम्म र ७ वटै प्रदेश कार्य समितिको अधिवेशन गर्न कार्तिक २३ गतेसम्म समय थप गर्ने निर्णय गरेको छ । परिमार्जित महाधिवेशन कार्यतालिका कार्तिक १ बाट लागु हुने विज्ञप्तिमा उल्लेख छ । राप्रपाको कार्तिक २७ बाट ३० गते काठमाडौंमा महाधिवेशन तय गरिएको छ ।





