नयाँदिल्ली । पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका बीच लगभग २० हजार टन खाना पकाउने ग्यास लिएर गणतन्त्र मार्शल (मार्शल टापु) को ध्वजाबाहक एलपीजी ट्याङ्कर गुजरातको कान्डलाको दीनदयाल बन्दरगाहमा आइपुगेको छ।
युद्धका कारण भारतको इन्धन भण्डारमा लगातार दबाब बढिरहेको बेलामा यो आपूर्ति देशको भान्सा र ऊर्जा सुरक्षा दुवैका लागि निकै महत्वपूर्ण मानिन्छ । जहाजले विश्वको सबैभन्दा संवेदनशील र खतरनाक समुद्री मार्गमध्ये एक ‘स्ट्रेट अफ हर्मुज’ पार गरेर यो यात्रा पूरा गरेको छ । मध्यपूर्वमा पछिल्लो ७५ दिनदेखि जारी युद्धका कारण यो समुद्री मार्ग पूर्ण रुपमा तनावमा छ
जहाजको आगमनले खुशी त ल्याएको छ तर यसको खतरनाक यात्राले सामान्य मानिसलाई झस्काउन सक्छ । इरानी नौसेनाको कडा निगरानी, अमेरिकी नाकाबन्दी र युद्धको खतराका बीच जहाजको सुरक्षित निकासी कुनै ठूलो सैन्य कारबाहीभन्दा कम नभएको चालक दलका सदस्यले बताएका छन् जहाजको स्वचालित पहिचान प्रणाली (एआईएस) पनि दुश्मनको राडारबाट बच्न बन्द गर्नुपरेको उनीहरूले बताए ।
भियतनामको अर्को ट्याङ्कर ‘एनवी सनशाइन’ पनि त्यही समुद्री मार्गबाट भारततर्फ जाँदैछ । ट्याङ्कर न्यू मङ्गलोर बन्दरगाहमा पुग्नेछ । यस्तोमा आगामी दिनमा भारतलाई खाना पकाउने ग्यासको आपूर्तिमा केही राहत मिल्न सक्ने विश्वास गरिएको छ । वास्तवमा पश्चिम एसियामा जारी युद्धको प्रभाव भारतको ऊर्जा भण्डारमा पनि स्पष्ट देखिन्छ । देशको रणनीतिक कच्चा तेलको भण्डारमा करिब १५ प्रतिशतले गिरावट आएको छ ।
मार्च महिनाको सुरुदेखि स्ट्रेट अफ हर्मुज पार गरेर भारत पुग्ने यो १३ औं जहाज हो । अहिले मार्सलको ध्वजाबाहक जहाजको भारतमा सकुशल आगमन भारत सरकार र ऊर्जा क्षेत्रका लागि ठूलो सफलता मानिएको छ ।





