म किशोरावस्थामा छँदैको कुरा हो वि.सं. २०३१–०३२ सालतिरको । मेरा साहिंलाबुवा तत्कालीन शाही नेपाली सेनाको अवकाशप्राप्त सहसेनानी रामबहादुर थापाले दशैं र जन्मोत्सवको अवसरमा श्री ५ मा शुभकामना पठाउनु भएको थियो । त्यसको जवाफमा राजदरबार सचिवालयबाट धन्यवाद–पत्र आएको देखेर म छक्क परेको थिएँ । फुच्चेले पनि साहस गरी अर्को वर्ष आफैँले कार्ड बनाएँ । आफ्ना अक्षर सकेसम्म राम्रो पारी हुलाक मार्फत् शुभकामना पठाएँ । त्यसको जवाफ पाउँदा म साँच्चिकै दङ्ग परेको थिएँ ।
निकै पछिसम्म पनि बाकस खोतल्दा ती धन्यवाद पत्रहरू निस्कन्थे । ती पत्र देख्दा रोमाञ्चित अनुभव हुने मात्रै होइन गोरखा दक्षिणबाहु नै पाएजस्तो सम्मानित भएको अनुभूति हुन्थ्यो ।
०४१ साल मङ्सिरमा अधिकृत भएँ । त्यसपछि लगातार आएका राष्ट्रिय पर्वहरू– पुस महिनाको १ गते एकता दिवस, १४ गते राजाको जन्मोत्सव र २७ गते पृथ्वी जयन्ती मनाउन कालो कोट–जुत्ता र सेतो दौरा सुरूवालमा ठाँट्टिएर सहभागी हुनु पथ्र्यो । जुलुसमा सामेल भई नारा लगाउँदै नगर परिक्रमा गरिन्थ्यो । अन्तिममा टुँडिखेल खुलामन्चमा भेला भइन्थ्यो । त्यहाँ हुने भीषण भाषण सुनेसी बल्ल फुर्सद पाइन्थ्यो । दौरा सुरूवाल ती दिनमा मात्र लाउने भएकाकोले बानी नपरी कतिखेर कोठामा पुगेर फालौं÷फेरौं हुन्थ्यो ।
०४२ वा ०४३ सालको राजाको जन्मदिवसमा राजदरबार भित्रसम्मै गई प्रत्यक्ष दर्शन गरी शुभकामना चढाउने निर्देशन आएको थियो । सोही अनुरूप हामी पनि हुनेले फूलमाला, नहुनेले नजिकै पुगेर झुकेर दर्शन गर्न पाउँदा र राजाको मुस्कानसहितको शिर–हल्लाइ पाउँदा पनि साक्षात देवदर्शन पाएको अनुभूति हुन्थ्यो ।
गत वर्ष बैकुण्ठवास हुनुभएका पाल्पा, तानसेनस्थित जनता विद्यालयका पूर्वशिक्षक झमेन्द्रप्रसाद नेपाल सरलाई पाल्पामा नचिन्ने कमै छन् । जनता माविबाट सेवा सुरु गरेर त्यहीँबाट अवकाश प्राप्त गर्नुभएका उहाँ पाल्पाका एकदमै सफल शिक्षासेवी प्रशासकका रुपमा चिनिनु हुन्छ । निष्ठा, लगन र सेवाकै कारण उहाँले दुई पटक गोरखा दक्षिणबाहु समेत पाउनु भएको थियो ।
झमेन्द्र सरले पश्चिमान्चल सवारीको क्रममा राजासँग दर्शनभेट पाउनुभएको थियो । कुराकानी भैसकेपछि राजाबाट ’अरू केही छ?’ भनेर सोधनी भएछ । ’यत्ति हो सरकार, अरू केही छैन सरकार, हजूरलाई धन्यवाद !’ भन्दा राजा मुसुमुसु हाँसेर विदा गरेछन् ।
बाहिर आएर अरू दर्शन भेट पाउनेसँग पछि कुरा हुँदा बल्ल राजा हाँसेको कारण थाहा पाएसी आफू पनि हाँस्नु भएछ । राजालाई ’सरकारको जय होस्!’ भनेर कृतज्ञता व्यक्त गर्नुपर्नेमा सर्वसाधारणसँग बोलेजस्तै ’धन्यवाद !’ भनेकामा उनलाई हुनसम्म पछुतो भएछ ।
राजाचाहिँ कति क्षमाशील ! यसले नजानेर धन्यवाद भनेको हो । पछि जान्दछ भनेर सिकाएजस्तो गरी मुसुक्क हाँसिदिएछन् । राजाको त्यो क्षमाशीलता अहिले पनि म झलझली सम्झन्छु ।
(लेखक अवकाशप्राप्त कर्मचारी हुन् ।)






