बलराम प्यासी ।। काठमाडौं, २१ साउन । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि)उत्तमराज सुवेदीले आफ्ना छोराछोरीहरु मोवाइलमा पढिराखेका छन भनेर अभिभावकहरुलाई दंग नपर्न सुझाव दिएका छन् ।
सामुदायिक प्रहरी सेवा कोटेश्वर र सामुदायिक सेवा तथा विकास समाज कोटेश्वरले शनिबार जडिबुटीमा आयोजित शान्ति सुरक्षासम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै एआईजि सुवेदीले पछिल्लो समय केटाकेटीहरु आफ्नै घरपरिवार र सामाजिक कार्यबाट टाढिँदै गएकोमा चिन्ता व्यक्त गरे ।
उनले भने—‘अहिले केटाकेटीहरुको संसार नै मोवाइल भएको छ, यसबाहेक उनीहरुलाई अरु कुराको चासो छैन, अभिभावकहरु पनि केटाकेटीलाई मोवाइल दिएपछि उनीहरुसंग छुटकारा पाएको महसुस गर्छन तर यसैका कारण केटाकेटीहरु मोवाइलको लतमा फसिरहेको अभिभावकलाई थाहा छैन ।

मोवाइलमा पढ्ने निहुँमा छोराछोरीमा पब्जी (मोवाइल गेम) र अश्लिल सामाग्री हेर्ने पवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्दै एआईजि सुवेदीले आफ्नो निगरानीमा मात्रै अभिभावकहरुले आफ्ना छोराछोरीलाई मोवाइल चलाउन दिनुपर्ने बताए ।
विगतमा १६ देखि २५ वर्ष उमेर समूहका किशोरकिशोरी र युवायुवतीहरु लागुऔषध सेवनका कारण जेल पर्ने गरेकोमा अहिले यो उमेर समूहका ४२ प्रतिशत किशोरकिशोरी र युवायुवतीहरु मोवाइल र सामाजिक सञ्जालसंग सम्वन्धित अपराधका कारण जेल पर्ने गरेको तथ्य औंल्याए ।
हरेक घरमा अभिभावकदेखि छोराछोरीहरु सबै मोवाइलको लतमा परिसकेको उल्लेख गर्दै केटाकेटी र अभिभावकलाई यसबारे समयमै सचेत गराइएन भने समाज विकृति र अपराधिकरणतिर धकेलिने निश्चित रहेको एआईजि सुवेदीको भनाई थियो ।
२० वर्षअघिको अपराधको तरीकाबारे बताउँदै एआईजि सुवेदीले त्यतिखेर नचिनेको व्यक्तिले हत्या, बलात्कार, अपहरण र लुटपाट र डकैति गथ्र्याे भने अहिले ८५ प्रतिशत अपराधका घटना आफन्त र चिनजानकै व्यक्तिबाट हुने गरेको बताए । शान्त र सभ्य समाजलाई केही अपराधिक मानसिकता भएका व्यक्तिका कारण विगारेको सुवेदीको धारणा थियो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालयको योजना तथा योजना अन्वेषण तथा विकास निर्देशनालयका प्रमुख, भिमप्रसाद ढकालले काठमाण्डौ महानगर—३२ लाई सुरक्षाको नमुना क्षेत्र बनाउन प्रहरीको साथै नागरिक समाज लाग्नुपर्ने बताए ।कोटेश्वर र जडिबुटी क्षेत्रको अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गर्न लामो समयदेखि खाली रहेका नीजि स्वामित्वका जमीनलाई पनि भाडामा लिएर सदुपयोग गर्न स्थानीय निकायले पहल गर्नुपर्ने बताए ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भरत बोहोराले सेवाग्राहीलाई भेदभाव नगरी आवश्यक सेवा र सल्लाह दिन परिसर मातहत रहेका सबै वृत्त र प्रभागका प्रमुखलाई निर्देशक दिईसकेको बताए । आफु काठमाण्डौ जिल्लाको प्रहरी प्रमुख भएर आएपछि दैनिकजसो ठुलो संख्यामा टोले गुण्डा नियन्त्रणमा लिएको पनि उनले बताए । सामुदायिक प्रहरी सेवा कोटेश्वरले गर्दै आएको कामको पनि उनले खुलेर प्रशंसा गरे ।
काठमाण्डौं महानगरपािलका ३२ का अध्यक्ष नवराज पराजुलीले जडिबुटीको जामदेखि कोटेश्वरको फुटपाथ व्यापार र अव्यवस्थित पार्किङ्ग हटाउन वडाले पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताए ।

सामुदायिक सेवा तथा विकास समाजका महासचिव रवीन्द्र थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोटेश्वर निवासी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि)उत्तमराज सुवेदी र प्रहरी प्रधान कार्यालयको योजना तथा योजना अन्वेषण तथा विकास निर्देशनालयका प्रमुख, भिमप्रसाद ढकाललाई पदोन्नतिको अवसरमा वधाई तथा सम्मान गरिएको थियो ।
कुलप्रसाद पराजुलीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कोटेश्वर व्यवसायी संघका महासचिव निलप्रसाद घिमीरे, सरस्वती युवा क्लवका उपाध्यक्ष उत्तमराज भण्डारी, अरनिको यातायात समितका पुर्व अध्यक्ष केदार क्षेत्री, कोटेश्वर समाज सुधार क्लवका अध्यक्ष सुवास रिमाल, पदमकुमार रेग्मी, श्याम लामालगायतले शान्ति सुरक्षा, फुटपाथ व्यापार हटाउन, अव्यवस्थित पार्किङ्गलाई व्यवस्थापन गर्न, प्रहरी बीट र प्रहरीको संख्या बढाउन माग गरेका थिए ।









