नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने भएको छ । शुक्रबार बिहान आफू निटक नेताहरुसँग बानेश्वरमा भेला गरेका उनले महाधिवेशनमा सहभागी नहुने निर्णय लिएको बताए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेकपा दुई पक्षमा विभाजित थियो। सुरुवातमा ओलीको कदमको विरोध गरेका साह पछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षसँग असन्तुष्ट भएका थिए। लगत्तै उनी ओली मन्त्रिपरिषद्को सदस्य बनेका थिए।
केही महिनायता उनले ओली नेतृत्वको एमालेलाई नेकपाको निरन्तरताको रुपमा लिनुपर्ने र त्यही अनुसारको नीति हुनुपर्ने बताउँदै आएका थिए। तर, त्यसलाई ओलीले मुखले स्वीकार गरे पनि व्यावहारिक रुपमा भने हिजोकै एमालेलाई निरन्तरता दिएको साहको बुझाइ छ। ओलीले आफूलाई दिएको बचनबाट पछि हट्दै धोका दिएको बुझाइमा साह छन्।
८बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग कुराकानी गरेका थिए । तर सहमति नजुटकाले विधान महाधिवेशनमा आफूहरु नजाने साहले बताएका छन् ।




