Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

आज दशैंको सातौ दिन, घरघरमा फूलपाती भित्र्याइँदै


प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज  घरघरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याएर मनाइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गा आह्वान गरी पूजा गरिएको स्थानमा आज फूलपातीका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नव दुर्गाको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् डा देवमणि भट्टराईले बताए।

फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिने बताउँदै उनले फूलपाती भित्र्याउन साइतको आवश्यक्ता नपर्ने जानकारी दिए।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जिवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ।

राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरे पनि गणतन्त्रपछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ। यस वर्षको फूलपाती मङ्गलबार अपराह्न साढे चार बजे भित्र्याउने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार