काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले बुधबार प्रमुख निर्वाचन आयुक्तसमक्ष दुईवटा महत्त्वपूर्ण मागसहित ज्ञापनपत्र बुझाएको हो।
पार्टीले स्थानीय तहको निर्वाचनमा दलीय प्रतिस्पर्धा र राजनीतिक भागबन्डाको प्रभाव कम गरी जनसेवा, सुशासन र स्थानीय विकासलाई प्राथमिकता दिनुपर्ने जनाएको छ। स्थानीय नेतृत्व चयन गर्दा दलीय आबद्धताभन्दा उम्मेदवारको योग्यता, इमानदारी, क्षमता, स्पष्ट कार्ययोजना र जनताप्रतिको जवाफदेहितालाई आधार बनाउनुपर्ने पार्टीको भनाइ छ।
गैरदलीय स्थानीय निर्वाचनको अवधारणा बहुदलीय लोकतन्त्रको विरोध नभई स्थानीय सरकारलाई नागरिकमुखी, निष्पक्ष र परिणाममुखी बनाउने सुधारको प्रस्ताव भएको पार्टीले स्पष्ट पारेको छ।
त्यस्तै, रोजगारी, अध्ययन र व्यवसायलगायतका कारण विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न पनि पार्टीले माग गरेको छ। देशको अर्थतन्त्र र विकासमा महत्त्वपूर्ण योगदान पु¥याइरहेका विदेशस्थित नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित गर्न नहुने पार्टीको धारणा छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले विदेशमा रहेका नेपालीको मतदान अधिकार कार्यान्वयनका लागि सरल, सुरक्षित, कम खर्चिलो र अधिकतम सहभागिता सुनिश्चित गर्ने मतदान प्रणालीबारे आयोगले अध्ययन गरिरहेको जानकारी दिएको घिसिङले बताएका छन्।
निर्वाचन सुधारका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूबीच व्यापक छलफल, सहमति र समन्वय आवश्यक रहेको प्रमुख निर्वाचन आयुक्तको भनाइ रहेको पनि पार्टीले जनाएको छ।
उज्यालो नेपाल पार्टीले दुवै विषय कार्यान्वयन गर्न आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत सुधारका लागि समयबद्ध पहल अघि बढाउन आग्रह गरेको छ।
स्थानीय तहमा योग्य र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकलाई समेत नेपालको लोकतान्त्रिक प्रक्रियासँग जोड्ने उद्देश्यसहित यी विषयमा निरन्तर पहल गर्ने अध्यक्ष घिसिङले बताएका छन् ।








