काठमाडौँ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले नेम्वाङलाई र महासचिव राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट कुल ९३ लाख ९ सय रुपैयाँ बिगो र क्षतिपूर्ति भराउन माग गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गत असोज २२ मा जिल्ला अदालत ललितपुरमा दायर गरेको अभियोगपत्रमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डेलाई प्रतिवादी बनाएको थियो ।
उनीहरु दुवै बुधबार बयानका लागि अदालतमा हाजिर भएका हुन् । उनीहरुविरुद्ध खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसुर तथा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी सम्बन्धी कसुर आरोप छ ।








